प्रदुषणको किरिम पाउडरले

कालो निलो भएको छ मुहार

भू-माफियाको चोटहरुले
छिया छिया कुरुप बनेको छ तन
यातायातका ध्वनी प्रदुषणले
श्रवण शक्ति गुम्ने अबस्था
बन्चरे डांडा ठुस्किंदा बेला बेला
दुर्गन्धले पिनास भएर नाकको बिचल्लि
श्रद्धाले पुजेका देवि देवताहरुलाई
बिदेश भ्रमणमा पुर्याइ सके द्रब्य पिचासहरुले
बिद्रोह,नारा जुलुस र अनसन गर्ने थलो
चलाख र धुर्तहरुको खुल्ला अबसर-केन्द्र
भिड र कोलाहलको बिचमा पनि
शून्य र एक्लो छ हर पल हर छिन
संधै अस्थिर,संधै निराश र अन्योल
सार्है तनावमा बिताइ रहेछ हरदिन
तारिफ गरे पनि,गाली गरे पनि
बिना गुनासो नरिसाई मौन बस्छ
स्वार्थी र पापी सियो धागोले
सिलाइएर बन्द छन ओंठहरु
"सय थुंङ्गा फुलका"गीत जति चर्को बजाए नि
नाच्दै नाच्दैन यो राजधानी शहर
चिल्लो नङ्ग्राहरुले जति काउकुती लगाए नि
बिकास-योजनाका चुट्किला जति सुनाए नि
हांस्दै हांदैन यो "काठमाडौ शहर"
-------------------------------
(असंपादित भावनाहरु)